दोस्रो विश्वयुद्ध पछि धेरै राष्ट्रहरुको अवस्था खासै राम्रो थिएन । युद्धपछि विनाशको चपेटामा अस्तव्यस्त रहेका देशहरु बनाउनुपर्छ भन्ने सोच लिएका केही राष्ट्रका नेताहरुले विश्वसमक्ष आफ्नो बेग्लै पहिचान बनाउन सके । जसको सोझो मुल्याकंन ति देशहरुको नेतृत्व पक्षलाई जान्छ । नेतृत्व गर्न सक्ने तागत राख्ने व्यक्तिलाई नेताको रुपमा व्याख्या गर्ने गरिन्छ ।
नेपालको राजनैतिक इतिहासमा नेताहरु धेरै नै जन्मिए । धेरैले पार्टीको नेतृत्व मात्र गर्ने तागत देखाए भने कतिले त्यही पनि देखाउन सकेनन् । हालसम्म देशको अवस्था हेर्ने हो भने देशलाई दृढ संकल्पका साथ एउटा पनि नेताले देशको नेतृत्व गर्न नसकेको अवस्था रहेको छ । छोटो समयको अवधिमा देशलाई संकटबाट पार लगाउँछु भनेर प्रधानमन्त्रीको पद सम्हालेका नेताहरुको सक्षमतामाथि जनताले सदैव प्रश्न गरेका छन् ।
देशले निकाश नपाएको आज ६० वर्षभन्दा बढी भइसकेको छ । हाम्रो तिन पुस्ताले क्रान्तिमा मात्र समय फालेका छन् । राजनीति र शक्तिको सही सदुपयोग हुन नसकेमा देशले विकासको बाटो लिन सक्दैन । माओत्स तुङले चीनभर फैलाएको कम्युनिष्ट विचारले आज चीनको प्रगतिले आकाश चुमेको छ । लामो समयसम्म सन्तुलित विकास गर्न सफल चिनीया विकासले विश्वका अन्य राष्ट्रहरुका नेतृत्वहरुलाई थप चुनौति थपेको छ ।
सन् १९७२ मा मलेसियासँग छुटिएको सिंगापुरको नेतृत्व गरेका लि कुवान युले छोटो समयमा विश्वभर आफ्नो पहिचान बनाउन सफल भए । दक्ष जनशक्तिको अभाव रहेको सिंगापुरका जनतासँग उनले गरेको सहयोगको याचनाले काम गर्यो । जे जस्तो सहयोग नेता लि कुवान युले पाए त्यसको सही सदुपयोग गर्दै जनतालाई भरोसा दिलाए । लि कुवानले सिंगापुरको विकासका लागि कुनै कसर बाँकी राखेनन् । ४० वर्ष अघिको सिंगापुरले यस्तो प्रगति गर्ला भनेर कसैले कल्पना समेत गरेका थिएनन् । त्यस्तै दक्षिण कोरिया र उत्तर कोरियाबिचको युद्धले आर्थिक विकासमा सधै समस्या पैदा गरिनै रह्यो । तर बितेको ५० वर्षमा दक्षिण कोरियाले गरेको प्रगतिले विश्वभर कोसेढुंगा नै साबित गर्न सफल भयो ।
त्यस्तै फ्रान्सका नेपोलियन, जर्मनीका विसमार्क, इटालीका काभोर, टर्कीका अतातुर्क, इण्डोनेशियाका सुकार्नो जस्ता लिडरहरुको नाम उच्च सम्मान तथा गौरवका साथ लिने गरिन्छ । यदि देशको विकास गर्नुछ भने सक्षम नेतृत्व जसले देश विकासका लागि बनाइएका योजना प्राप्तिका लागि कुनै कसर बाँकी राख्दैनन् । जुन नेपाली नेतृत्व लिएका नेताहरुमा खड्किनै रह्यो ।
स्वतह स्फुर्त रुपमा जनताको साथ पाउन सफल नेताहरुले उनीहरुको भरोसा तोड्ने काम गरेनन् । राजनैतिक खिचातानी बेलाबेलामा देखिए पनि विकास लागि तयार पारिएका संयन्त्रहरुले काम गर्न पाइरहे । जसले गर्दा आज विकसित राष्ट्रहरुको सुचीमा पर्न उनीहरु तयार रहेका छन् । एउटा देशले ३० देखि ४० वर्षमा ठुलै परिवर्तन गर्नसक्ने अध्ययनले देखाएको छ । नेपालमा भने विकासको जग पनि बसेको छैन । विभिन्न क्षेत्रलाई आवश्यक पर्ने जनशक्ति अझै उत्पादन गर्न सकेको छैन । छिमेकी राष्ट्र भारत र चीनसँग अन्तर्राष्ट्रिय व्यापारमा निर्भर पर्ने राष्ट्रहरु बढीरहेका छन् ।
नेपालको अवस्था हेर्ने हो भने राजनैतिक खिचातानीलाई मात्र हेर्ने गरिन्छ । तर हामी विकासका योजना बनाउँदा अध्ययन गर्ने परिपाठीमा निकै पछि रहेका छौ । अनुगमनको मामिलामा पनि हामी निकै कमजोर रहेका छौ । बर्षैपिछे अरोबौ रुपैया खर्च गर्न सरकार असफल रहेको छ । संविधान बन्ने नबने टुंगो अझै रहेको छैन । भुकम्पपछि आएको विपदले झन् देशलाई पछि पारेको छ ।
विकासका योजनाहरु बनाउँदैमा देश विकास हुने होइन, देशका लागि आवश्यक नीति नियमको परिपालन हुनु पनि पर्छ । सरकार र जनताबिच दुरी बढेको छ । विपदमा रहेका जनतालाई अब विकास गर्नुपर्छ, संविधान बनाएर एक भएर देश निर्माणमा जुट्छौ भनेर आस्वस्त पार्न पनि सक्दैनन् नेपाली राजनैतिक दलका नेताहरु । लि कुवानले आफ्नो मात्र सोचेको भए आज सिंगापुरले त्यो प्रगति देख्ने थिएन । सुकार्नोले स्वार्थ देखाएको भए इण्डोनेसिया अझै उही गरिबीको खाडलमा रहिरहन्थ्यो ।
आज जुन देशले विकास गरेका छन् उनीहरुका जनताहरु पुर्ण गौरव तथा धमण्डका साथ आफ्ना नेताहरुको नाम लिने गर्छन् । तर हामी नेपालीहरुको विडम्बना नेताहरुको ठुलै संख्या भएपनि गौरवकासाथ लिन सक्दैनौ । नेपाली नेताहरुमा भएको पार्टीगत स्वार्थले पनि उनीहरुको सक्षमतामाथि प्रश्न खडा गरेको छ । हरेक पार्टीहरु आफ्नै प्रक्रियामा अल्झिने हो भने देश झन् विपदमा पर्ने देखिन्छ । नेपालीहरुले नेताहरुको नाम गौरवकासाथ लिने दिन कहिले आउँछ त्यो अझै भविष्यको गर्वमा रहेको छ ।
No comments:
Post a Comment